दैलेख स्वभावैले पनि विभिन्न ऐतिहाँसक महत्वका स्थलहरु रहेको जिल्ला हो । यहाँ रहेका विभिन्न खानीहरुको उचित संरक्षण र पर्वद्धन मात्र गर्न सके जिल्लाको राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।
विभिन्न किसीमका खानीहरु र महत्वपुर्ण बस्तुहरु जिल्लामा भएपनि जिल्लाका सम्वन्धित निकायहरुले उचित चासो नदिएका कारण यस्ता कुराहरु अवैध भएका छन् ।
आम्दानीको स्रोत बनाउने अभियान भन्दा नीति बाहिर आफ्नो क्षणीक फाईदा खोज्ने प्रवृतीका कारण यस्ता महत्वका बस्तुहरु माँसिदै गएका छन् । कतिपयले अवैध रुपमा यसैबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।
स्थानीय देखि राष्ट्रिय स्तरसम्म समाचारहरु प्रकाशन र प्रसारण हुँदा पनि सम्वन्धित निकायहरुले कानमा तेल हालेर बस्ने विगतदेखिको नराम्रो परम्परा कहिलेसम्म रहने हो यसको भने लेखाजोखा गर्नुपर्ने देखिएको छ ।
जिल्लामा रहेका विभिन्न खानीहरुको ब्यवस्थापन र संरक्षणको जिम्मेवारी लिएका निकाय मध्ये बहुमुल्य ढुङ्गा (काईनेटी ईनर्जी) को अवैध कारोवार भैरहँदा स्थानीय प्रशासनले कदम चाल्नु पर्दछ । त्यसभन्दा अघि अँझै बढी जिम्मेवार बनेको जिल्ला वन कार्यालय र जिल्ला विकास समितिले समेत ध्यान नदिनु निकै लाजमर्दो कुरा हो ।
स्थानीय स्रोत र साधनहरुको अवैध व्यपार गर्नेहरुले रातारात राजश्व नतिरेर निकाशी गरिरहँदा देखिएको मौनता भित्र अर्को कुरा के लुकेको होला सहजै अनुमान गर्न सकिन्छ । यसको रोकथाम कसले गर्ने ?








